दिव्याञ्जली - रचनागर्भ
झ्याल बाहिरबाट चिर्बिरचिर्बिर गर्ने चरीहरुको आवाजसँगै बिउझिएँ । रातभर पानी परेपछिको सुनौलो बिहानी, रातो पर्दाबाट अलिकती घाम भित्रसम्म छिरीसकेको । चिसो हावा, न्यानो निद्राबाट बिउझिएको शरीर । पछाडी भाईको कोठासम्म पुगे, घरमा एक्लै थिएँ । गरर… पर्दा ताने । बाहिर मकैका पातहरु हावामा लहरीरहेका थिए । शीतको थोपामा सूर्यको किरण पर्दा उमंगले नाचिरहेका ससाना बोटहरु आज बढिनै जिवन्त देखिन्थे । आषाणको समय, २०७४ साल, स्थान : कीर्तिपुर ।
हावामा लहरिरहने तिनै पातहरुसँग गुनगुनाउदै दिन बित्यो । “तिमीले बचपनमा जे कल्पेका थियौ त्यो पुरा गर्ने बेला भयो”, फुरुङ्ङ जीउलाई हृदयले सुटुक्क भन्यो । जे कुरामा मलाई प्रेम छ, त्यसबारे मैले जिन्दगीमा कहिले पनि दुई पटक सोचिन । बच्पनमा हृदय भित्र गढेको बीउ सायद अब टुसाउन खोज्दै थियो । सूर्यअस्तसँगै आइप्याड हातमा लिएर बेडमा बसेँ, मलाई कथा लेख्नु थियो । पहिलो वाक्य यसरी ज्वारभाटा फोरेर निस्कियो की लाग्यो, यो मेरो वाक्य नै होईन ।
“प्रेम भ्रम हो भने जिन्दगीमा यो भन्दा मिठो भ्रम अर्को छैन । प्रेम पर्माहात्मको पवित्र उपहार हो भने यो भन्दा पवित्रतम उपहार अर्को छैन ।”
मलाई अहिले पनि उस्तै लाग्छ । सायद पहिलो वाक्य पूर्वीय दर्शनको सार हो, उल्ट्याएर लेखिएको । दोस्रो, जिजस क्राईस्टको वचन, मेरा शब्दहरुमा निस्किएको हुनुपर्छ । पहिलो वाक्यले ध्यानको उचाई बोल्छ र दोस्रो वाक्यले प्रेमको गहिराई भन्दा पनि गलत नहोला । र साथसाथै अन्तिम वाक्य पनि लेखिदिएँ ।
“जागरण स्वतन्त्रता हो भने अस्तित्वमा यो भन्दा मिठो स्वतन्त्रता अर्को छैन । जागरण पर्मात्माको पवित्र उपहार हो भने, यो भन्दा पवित्रतम उपहार अर्को छैन ।”
तसर्थ यो प्रेमदेखी जागरणसम्मको कथा हो । भ्रमदेखी स्वतन्त्रता सम्मको कथा हो । मैले प्रेमको कथा लेखेभने त्यो समाधीसम्म नपुगी सकिदैन भन्ने सायद मेरो अहिलेसम्म नजन्मिएको आत्माले देखेको थियो ।
शब्दहरु एक्लै एक्लै निस्किएनन्, वाक्यको रुपमा निस्किए, अनुच्छेदको रुपमा निस्किए, सात दिन लगातार लेखेँ । अचम्म ! मेरा वाक्यहरु हृदयको गहिराईबाट निस्किरहेका थिए अलिकती यौवनको त अलिकती दर्शनको, अलिकती धर्मको भनक बोकेर ।
“तेश्रो भेटमा मैले उसको ओठ चुमिदिएँ । मानव ओठको गरिमा देखाईदिएँ ।
सिम सिम झरी पर्दो, त्यहीं चिल्लो टेबल, टेबल माथि गमलामा झुन्ड्याईएका त्यहीं डालिया फूल, हाम्रो तेस्रो कफि ।
“दिनदिनै झनझन राम्री कसरी हुन्छे ?” सोधिन ।
पाछाडी चुल्ठो पारेर बाँधीएको कपाल झन् काला देखिन्थे, झन् घना देखिन्थे ।
“तपाईं त ब्याड बोइ रैछ", झुकेका नजर उठाउँदै उसले भनी ।
मसँग उत्तर थिएन, अतिक्रमढ मैले गरेको होईन, ओठ मेरा भएपनि चुम्ने उनै भागवान हुन" भागवत गीताको सार्, मलाई भन्नु मन थियो तर भनिन ।”
पहिलो सात दिन कँहासम्म लेखेको थिएँ मलाई याद पनि छैन । तर किताबको त्यो अंश जसरी निस्कियो, प्रकाशीत कृतिमा उसरी नै छ । मैले सम्पादन गर्न जरुरी ठानिन । एउटा घर, एक्लो जीउ, खानपिन र निद्रा बिनाको सात दिन । ऐना हेर्दा झसङ्ङ भएँ । अनुहार भरी बिबिरा, डार्क सर्कल आएको, शरीर एक अँश घटेको जस्तो ।
“मरिन्छकी क्याहो”, बिचार आउन थाल्यो । अलिकती खानपिनमा, अलिकती निद्रामा फर्केँ । एक्ज्यामको अघिल्लो दिन जसरी तयारी गरिन्छ, अब त्यसरीनै लेख्न थाले । एसो चार, छ घण्टा सुतेर, दिव्याञ्जलीकै काखमा निधाएर । अर्को दश दिनमा कथाले पहिलो चरणको पूर्णता पायो । कथा कँहा सुरु हुन्छ, कँहा सकिन्छ, कथाले कँहा बिस्राम लिन्छ, अब मलाई थाहा थियो । नक्सा तयार भो, जग खनियो । अलिकती कथा बुनियो पनि । सुरुको सात दिन मात्र पनि होइन, सायद सत्र दिनको नै मैले फेरी सम्पादन गरिन ।
जग बसेपछि पिल्लर र वाल उठाउन अलिकती सहज हुन्छ सायद । पात्रहरु अचम्मसँग आत्मवान हुदै गए । जब पात्रहरुले खुट्टा टेक्छन, लेखकले धेरै जोड गरिराख्नु पर्दैन, उनिहरु आफ्नो बाटो हिड्न थाले । एउटी आमाको भर्खर हिड्न सिकेका लालाबाला जस्तै, उनिहरु परपर क्षितीजसम्म भाग्न खोज्छन् । आमा पच्छ्याइरहन्छीन । लढ्नै लागे मात्र समाउछिन् । उसरी नै मैले पात्रहरुलाई हुर्क्याएको हु । गाहारो हुन्छ नै । पात्रहरु भेडाको बथान जस्ता पनि हुदैनन् । उनिहरु बाख्रा जस्ता हुन्छन्, कोही भीरतर्फ लाग्ने, कोही अगाडीको दुई खुट्टाले रुख चढ्न खोज्ने, ससाना पाठापाठीहरु आफुलाई बायुपङ्खी घोँडा भन्ठान्ने ।
मैले प्रेम लेख्न सुरु गरेको थिएँ । कथाको पत्र भित्र पत्रहरु थपिदै गए । कथाले उचाई लिन थाल्यो, कथाले गहिराई लिन थाल्यो । सपनाहरु लेखिए, बियोग लेखियो, यात्रा लेखियो, सतोरीहरु लेखिए । अनुसन्धान दुबै तर्फ भो, अन्तर मनमा, बाहिर मनमा । कथा जमीन देखी आकाससम्म पुग्यो, समाधी पनि लेखियो । अब मात्र मलाई ज्ञान भो, मैले मजाकमजाकमा आधुनिक मानबको चेतनाको एउटा विस्त्रित रुपनक्सा लेखिदिएँ । जमीनलाई आकाससँग लगेर टासिदिएँ ।
लेखाई, मानब अचेतनाको यात्रा हो । आफ्नो दिमागको खेतबारीमा हराउदा हराउदै लेखक अस्तित्वको दिमागको बगरहरुसम्म पनि पुग्न सक्छ, मलाई बोध हुदै थियो । अनौंठा सपनाहरु आउँदै थिए । म आफ्नै चित्तको गहिरतम् सत्यहरुको साक्षात्कार गर्दै थिएँ । असोजको दिनहरुमा कथाले पूर्णता पायो । कार्तिक मंसिरको समय मैले आफ्नो गाँउमा बिताए, फूर्सतमा बिताए । आफ्नाहरुको आँगनमा बिताए । कथालाई पनि अलिकती आराम दिएँ, अलिकती अवकास दिएँ । तिहार लगत्तै म फेरि दिव्याञ्जलीको काखमा फर्किएँ । सोचेको थिएँ यात्रा सकियो, तर अर्को चरणको तिर्थयात्रा अब मात्र सुरु भो । कथालाई सुल्टो पढेँ, एक पटक उल्टो पनि पढेँ, मजाक गर्न मैले जिन्दगीबाट नै सिकेको हुँ । कथालाई पछाडिबाट पढ्न सक्नेहरुले नै कथा सम्पादन गर्न सक्छन्, एउटा रहष्य यहां खोलिदिन्छु ।
घर ढलान गरेपछि लाग्छ अब सकियो, तर उत्तिनै बेला ठेकेदारले भन्छ, मूख्य काम त अब सुरु हुन्छ ।
लेख्नु भन्दा श्रमसाध्य त सम्पादन हुदोरहेछ । कथा लेखाईले तपाईको हिम्मतको परिक्षा लिन्छ त सम्पादनले तपाईँको धैर्यताको । कम्प्यूटर साइन्स पढ्दै गरेको ज्यान, एउटा सेमिकोलोन सम्म पनि चार पटक हेर्न खोज्ने । बच्पन देखिको पढाई अब काम आयो । एल्गोरिदम बनाए, फ्लोचार्ट बनाए, ईन्टिटी रिलेसन्सिप डाएग्राम बनाए । पात्रहरुलाई एकअर्कासँग जोडें, सम्बन्ध हेरे । किताबमा कतै हिंसा त आएन ? फेरि फेरि नियालेँ । मलाई सकेसम्म सूक्ष्म हिंसा पनि लेख्नु थिएन । मनुष्यको चेतनालाई हानी गर्ने कुरा मलाई कुनै पनि सर्तमा मान्य छैन । र अन्तिममा हेरे, कुनै पात्रलाई मैलें अलपत्र मा त छाडिन ? कथा सुरु हुदा भन्दा कथा सकिदा मेरा पात्रहरु घाटामा त परेनन् ? आफैले जन्माएको पात्र थिए, मेरो मुटु उनिहरुको लागी धड्किन्थ्यो नै जसरी गर्भका बच्चा आमाको मुटुसँगै धड्किन्छन् ।
हृदयले एक ठांउमा पनि सम्झौता गर्न जानेन, तब कठिन भो । त्यसमाथी, आकासको एक टुक्रा इन्द्रधनु कथामा झुल्किएको थियो ।
बिज्ञान र हृदयलाई समेटेर परमात्मा सम्म पुर्याउनु, बाघ, बाख्रा र सागलाई सकुशल खोला तार्नु जस्तै नै रह्यो । कथाले काचुली फेर्दै गयो, आफ्नै गर्भबाट फेरिफेरि निस्कियो । परिक्षा लेखकको मात्र लिइएन, लेखको पनि लिइयो, प्रशव पिडा सायद पात्रहरुलाई पनि भो । भाषाको गहिरो ज्ञान मलाई कहिले पनि थिएन । र सायद त्यही कम्जोरी मेरो लागी वरदान पनि बन्न पुग्यो । मेरो हृदय जसरी धड्किन्छ मैले उसरी नै लेख्न पाएँ, जमीनको भाषामा, गुरुत्वको भाषामा, तब यो नितान्त भावबाट लेखिएको कथा हो । कथाको बाहिरी बुनावटमा कतै गाँठागाँठी देखिन सक्छ । आकासलाई जमिनसम्म तान्दा तान्दै कहिकतै नआएको पनि हुन सक्छ । बढिनै एब्स्ट्रयाक भयो की भनेर यो कथालाई गाली गरिदिनुहोस् ।
सम्पादनको आफ्नै पत्रहरु रह्य, आफ्नै चरणहरु रह्य । अब कथाको भाव कुनै एउटा लाईनमा पनि अपूर्ण छैन भन्ने भरोशा आएपछि मात्रै म रोकिए ।
पौससम्म आईपुग्दा रोमनमा लेखिएको एउटा पान्डुलिपी तयार भो । बाबालाई पढ्न दिएँ, उहा मौन हुनुभो । लगातार दुई पटक पढ्नुभो । सायद मनमनै उग्र्याउनु भो पनि । अब मात्र मेरे मनमा अलिकती इक्षा जाग्यो, प्रकाशीत गर्ने । आषाण को दिनदेखी मैले सोच्न सम्म भ्याएको रहेनछु । म एकोहोरो हुदै गएँ । नेपालीमा टाइप गर्नु मलाई कत्ति मन थिएन, कसैलाई दिनु मेरो हृदयले मानेन, म यो कथाप्रती बढिनै सुरक्षात्मक हुदै थिएँ । मेरो हृदय च्यातेर सार्वजनिक स्थलमा राखिदिएको जस्तो हुन्छ जस्तो मात्रै मलाई लाग्यो । परिवारबाट, साथीहरुबाट साथ सहयोगको, समर्थनको हौसला पाएपछि, अलिकती मोह मा परे । छाप्नु चाई पर्छ भन्ने सम्म लाग्यो ।
कथासँगको बाहिरी अल्मल्याईमा मैले आफ्नो ब्यक्तिगत बिकासलाई थाती राखेको थिएँ । तर सायद समय हुंर्कदै थियो कुनै अर्को सत्यको साक्षात्कार गर्न । माघसम्म आईपुग्दा मलाई आफैमाथि अपुर्व भरोसा आयो । लागेको थियो मैले कथा लेखेँ, सायद कथाले पनि मलाई लेखेको रहेछ, एउटा समाधीको घटना ममा घट्यो । लगत्तै अर्को घट्यो, मलाई आत्मानुभव भयो । अस्तित्वको चेतनासँगको सिधा साक्षात्कार पछि अब ममा पनि एउटा आत्मा जन्मियो । लागेको थियो दिव्याञ्जलीलाई मैले जन्माए तर उनको काखमा म पनि जन्मिएको थिएँ । बिहान उठेर एउटा पेन्टिगं बनाए “द ब्लेस्ड वान”, फेसबुकमा टासिदिएँ । अब म आफू नै फूलभन्दा कमलो थिएँ, हातमा पुस्तक थियो, के सम्हाल्नु, कता सम्हाल्नु भो । तपाईँलाई आमा र छोरा एकैचोटि जन्मिएको अनुभव छ ?
साथै अर्को झन्झट म माथी आईपुग्यो । कथा भर्खर सकिएको । तर समाधीको पाटो फेरि दोहोर्याउनु पर्ने भो, लाग्यो ।
एक हप्तापछि किताब पल्टाउदा मेरो खुसीको सिमा नै रहेन । न किताबमा केही गलत देखियो, न मसँग अब धेरै शब्द नै रह्य । जिन्दगीमा जति शब्द सिकेको थिएँ, यो किताब लेख्नुमा नै ठिक्क खर्चिएको रहेछु । सायद सूर्यदय अगिनै दुईचार वटा किरणसँगको मुठभेडकै भरमा मैले सूर्य लेखिदिएँ । भोगाई र शब्द एकै त पक्का पनि होईनन् तर सबैभन्दा नजिकको शब्दमा बोलिने हुन्, लेखिने हुन्, त्यो थियो नै । एक त, समाधीका आँखाबाट हेर्दा समाधीको बारेमा जे लेखेपनि गलत हुदैन । समाधी अन्तिम स्विकार हो, बिरोधको भाषा नै जान्दैन । दोस्रो, हिड्दा हिड्दै धर्ती सकिन्छ त के लेख्नु । हुँदाखाँदाको जिन्दगी, भर्खरै भत्किएको, अब कसरी सम्हाल्नु ? कथाको प्रवाह नबिगारिकन बरु अर्को एउटा अनुच्छेद थपिदिएँ, कक्षा पाँच पढ्नेहरुको भाषामा, त्यो ब्राकेटमा राखेकोछु । नितान्त निजी अनुभव हो, कुनै दिन कुनै बुद्धपुरुषको, कुनै बोधिसत्वाको हातमा किताब पर्यो भने आफ्नो परिचय दिनलाई मात्रै ।
साथसाथै, यी वाक्य माथी अलिकती ध्यान गर्नुहोस् ।
“उसको हृदयलाई सायद त्यही चट्ट्याङ्ले हानेको थियो । जसले कविरलाई हान्यो, जसले फरिदलाई हान्यो ।”
हान्छ नै ! हेर्दा सामान्य वाक्य, कुनै भक्तको लागी उति सामान्य नहोला ।
शब्द लेखिए, बालकका जस्ता । रोमान्स लेखियो, वैरागीको जस्तो । भाव लेखियो,
सन्यास लेखियो, अचेतना लेखियो, मनोबिज्ञान लेखियो, चेतना लेखियो । जिन्दगीले सिकाएको मजाक कँहिकतै नछुटाई । तब दिव्याञ्जली, एउटा पुराण बन्न पुग्यो, एउटा शास्त्र बन्न पुग्यो । समयको मागभन्दा अल्लि पहिलेनै सायद ।
घटनाहरु घट्दै गए, धेरै बोधहरु सँगसँगै आए । अब म सँग एउटा आँखा थियो, मुटुको आँखा, जसको ज्योतिमा म चिजहरुको अन्तरआत्मा हेर्न सक्थे । जसरी सुनारले कुनै ढुगाँसँग घोटेर सूनलाई चेकजाँच गर्छ, त्यसरीनै । आफ्नै मुटुसँग घोटेर म अनेकअनेक चिजहरुसँग परीक्षण गर्न थाले । पुस्तकलाई पनि छिट्टै हुर्किने, छिट्टै छापिने रहर नहुदो हो सायद । चैतसम्म आईपुग्दा नौं महिना पूरा भो । पुस्तकले आफ्नै सास फेर्न थाल्यो, मेरो नै धड्कनमा धड्किनुपर्ने अब उसको जरुरत रहेन । सबैभन्दा कान्छो वाक्य, एक किसिमले सबैभन्दा बृद्ध वाक्य थपिदिए ।
“ईनार जमीनमै खनिन्छ, पानी जमीनबाटै रसाउछ यधपी ईनार जमीन होईन, जमीनबिहिनता हो ।”
अन्तत: किताब सकिदासम्म, म लेखक रहिन । पाठक थिएँ, प्रेमी थिएँ । प्रेमका क्षणहरुमा, मैले कथाको चेतनाको एउटा ग्राफ पानामा खिचेँ । बार बार पढिरहदा मेरो मुटुले एउटा नया शब्द बनायो “हेप्रुब्ड”, मत्लव ? “हार्ट” + “एप्रुभ्ड”, मुटुले अनुमोदन गरेको ।
मैले दिव्याञ्जलीलाई जन्माएको थिएँ, उनले मलाई जन्माईन । यो पारस्परिक सम्बन्ध रह्यो ।
बैसाख १, २०७५
सरोज अर्याल